कर्णालीका मुख्यमन्त्रीको सत्ता टिकाउने दाउ : प्रचण्डको निर्देशन विपरीत नै विश्वासको मत लिँदै !

काठमाण्डौँ- प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको साँचो नेकपा एमालेलाई सुम्पिने सहमति गरेसँगै कर्णाली प्रदेशमा माओवादीभित्र ‘किचलो’ उत्पन्न भएको छ ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला अध्यक्ष प्रचण्डले नयाँ सहमति अनुसार एमालेलाई प्रदेशको नेतृत्व छाड्ने निर्देशन दिएपछि माओवादीभित्र विवाद सिर्जना भएको हो । तर, अधयक्ष प्रचण्डको निर्देशन विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा विश्वासको मत लिने तयारीमा अगाडि बढेका छन् । कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ ।

सोमबार बिहान बालुवाटारमा तीन दल नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री नेकपा एमालेले लिने समझदारी भएको थियो ।

सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए । तर चैत १८ गते नै संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसकिएकाले अघि बढ्नुपर्ने अवस्था आएको प्रमुख सचेतक परियारले बताए ।