रेशम–रञ्जितासँग प्रधानमन्त्री दाहालको बेग्लाबेग्लै भेट, के भयो कुराकानी  ? 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

मंगलवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच भेटवार्ता भएको हो । भेटवार्तामा प्रचण्डले नयाँ सत्ता गठबन्धनमा सामेल हुन रेशमसँग आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई जवाफ दिंदै रेशमले चैत २३ र २४ गते पार्टीको केन्द्रीय समिति बैठक बस्ने र सोही बैठकले सत्ता गठबन्धनको बारेमा निर्णय गर्ने बताएका छन् ।

आज बिहान मात्रै नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका थिए । श्रेष्ठसँग प्रधानमन्त्रीले छुट्टै भेटवार्ता गरेपछि रेशम सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् । पछिल्लो समय अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच चरम रुपमा विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ ।