गैंडाकोटमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु, एक युवती गम्भीर घाइते

काठमाडौँ । पूर्वी नवलपरासीको गैंडाकोटमा स्कुल बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन्।

ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटरमा सवार पर्वतको फलेबास नगरपालिका - ४ घर भई हाल भरतपुर महानगरपालिका- २६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा गैंडाकोट नगरपालिका- ५ की २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छन्। उपचारका लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान थालेको बताएको छ।