पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग

काठमाडौँ । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पर्यटन ऐन, २०३० लाई तत्काल अध्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब दिएकी हुन् ।

सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको संख्या २५ लाख २२ हजार पुर्‍याउने लक्ष्य पूरा हुनेगरी काम गर्न पनि सरकारलाई सचेत गराइन् ।

पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आभार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि आग्रह गरिन् ।

उनले भनिन्, ‘पर्यटक राजधानी त पोखरालाई घोषणा गर्‍यौं । तर घोषणा गर्नुको औचित्य र आवश्यकता पूरा गर्न कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । पर्यटन उद्योगले निर्यात वस्तुको ३८ प्रतिशत र गैरउद्योग सेवाहरूको कुल २० प्रतिशत साथै विदेशी विनिमय आर्जनको झन्डै चार प्रतिशत योगदान पुर्‍याउँछ ।

सांसद भट्टराईले पर्यटन क्षेत्र नेपालको विकासका लागि अति उपयोगी हुने भएकाले पनि सरकारले त्यसको विकास विशेष जोड दिनुपर्ने बताइन् ।