रवि लामिछानेको राहदानीबारे मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानीबारे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

लामिछानेको नागरिकता विवादमा मुद्दा हालेका कानून ब्यावसायी युवराज सफलले नै आइतबार दिउँसो सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । 

सर्वोच्चको प्रशासनले भने रिट निवेदन दर्ता गर्ने नगर्ने विषयमा अध्ययन गर्ने बताएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले यही चैत ६ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा चलाउनु नपर्ने गरी गरेको निर्णयका आधारमा लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनु अघि महान्यायाधीवक्ता पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका थिए ।