गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी, अप्ठेरोमा प्रधानमन्त्री

काठमाण्डाै - निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पार्टीभित्र गृहमन्त्रालय आफैंसँग राख्न दबाव खेपिरहेका प्रचण्डमाथि गृहमन्त्रालय कांग्रेसलाई दिन चर्को दबाव छ।

कांग्रेसबाट गृहमन्त्रालयमा दुई जनाको दाबी छ। उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित गृहमन्त्रालय पाए सरकारमा पार्टीको नेतृत्व गरेर जान चाहन्छन्। वर्तमान गठबन्धन निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका खड्काले रोजेको मन्त्रालय दिन सभापति शेरबहादुर देउवा पनि सकारात्मक छन्।

तर गृहमन्त्रालय प्रधानमन्त्रीको दलले राख्ने कि कांग्रेसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री निर्णयमा पुग्न सकेका छैनन्। कांग्रेसभित्र गृहमन्त्रालयको दाबी पार्टी प्रवक्ता डा. प्रकाशशरण मतहले गरिरहेका छन्। महतले आफूलाई गृहमन्त्री बनाउन समापतिसँग लविङ गरिरहेका छन्। महतप्रति देउवा पनि नकारात्मक छैनन्।