आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढाेरपाटन - कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो।

त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए। विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन्। आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उनी बताउँछन्।

ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्याका छन्। उनी भन्छन्, “आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढेको पाइएको छ।”

धौलागिरि आयुर्वेदिक अस्ताल आउने बिरामीको तीन वर्षयताको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा सात हजार एक सय ५४, आव २०७७७८ मा १२ हजार पाँच सय ८३ तथा आव २०७८७९ मा १६ हजार दुई सय ४७ जनाले यहाँबाट सेवा लिएका छन्।