रास्वपा पार्टीले संविधान अनुसारको कानून निर्माणका लागि सरकारलाई दबाब दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको संसदको आगामी अधिवेशनमा नयाँ संविधान अनुसारको कानून निर्माणमा सरकारलाई दबाब दिने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्यमुख्य कानून निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउने गरी  दबाब दिने निर्णय गरेको हो ।

राज्य सञ्चालनका लागि आवश्यक संविधान बमोजिमको कानून निर्माणमा सरकारलाई दबाब दिनेगरी आफूहरुले आगामी संसदमा काम गर्ने निर्णय गरिएको पनि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले जनतासँग गरिएको बाचा, संविधानमा गरिएको व्यवस्था र नागरिक अधिकार तथा स्थानीय समस्या समाधानका लागि के, कस्ता पहलहरु भए र आगामी अधिवेशनमा त्यसलाई कसरी कसरी अघि बढाउनु हुन्छ भनि सांसदहरुलाई प्रश्न गरेका थिए । ती प्रश्नहरुमा केन्द्रित भएर सांसदहरुले आफ्नो कार्ययोजना पनि बैठकमा प्र्रस्तुत गरेको पनि प्रमुख सचेतक परियारले बताए ।