क्यासिनोमा प्रहरीको छापा, ३ नेपाली र ६ भारतीय पक्राउ

काठमाडौँ । प्रहरीले दरबार मार्गस्थित अन्नपूर्ण होटलको परिसरमा सञ्चालित क्यासिनो प्यालेसमा शुक्रबार छापा मारेको छ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीका अनुसार तीन जना नेपाल र ६ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

पक्राउ परेकाहरुलाई अदालत समक्ष शुक्रबार नै उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गरिएको उनले देश सञ्चारलाई जानकारी दिए।

छापा मार्दा उनीहरुको साथबाट एक करोड ७ लाख नेपाली रुपैयाँ बरामद भएको छ। अवैध अनलाइन बेटिङ गराइरहेको सूचनाका आधारमा छापा मारिएको प्रहरीले बतायो। नेपालबाट अनलाइन बेटिङ गर्न नपाइने कानुनी व्यवस्था छ।

क्यासिने पाँच तारे होटलमा मात्रै सञ्चालन गर्न पाइने भए पनि क्यासिने प्यालेस अन्नपूर्ण होटलको परिसरमा मात्रै सञ्चालित छ। अन्नपूर्णको आफ्नै क्यासिनो भने बन्द अवस्थामा छ।