वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको ओलीको आरोप

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको आरोप लगाएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाए । उनले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताए ।

अध्यक्ष ओलीले भने, ‘सकारात्मक सुझाव दिने, सकारात्मक काम गर्न निर्देशन दिने हो । हस्तक्षेप गर्नलाई निर्देशन भनिँदैन । प्रधानमन्त्रीजीले विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयार भइसक्यो । गठबन्धनले नजित्ला जस्तो देखियो रे । आजबाट सम्मेलन छ, चुनाव होला सायद । हिसाव गर्दा गठबन्धनलै नजित्ने सम्भावना देखियो रे, त्यसो भएर सम्मेलन स्थगित गर्नु, संस्थाको खर्च भयो होला, पाहुना आएका छन्, त्यहाँका नेतृत्व आएका छन् । नेपालको इज्जत के हुन्छ रु इज्जत, बेइज्जतको ख्याल छैन । त्यो सम्पती लुटेर, हडपेर त्यहाँ काँग्रेसले लुटेर खाइरहेको छ, अहिले पनि । दादागिरी मसल देखाएर खाइरहेको छ । स्काउट राम्ररी चल्नु भएन, स्काउटले राम्रोसँग काम गर्नु भएन भनेर यसलाइृ भंग गरेको हो ।’

अध्यक्ष ओलीले कुनैपनि स्वतन्त्र संस्थाहरुलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप लगाए ।