नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क

काठमाडौँ - नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफूहरु तयार रहेको बताएका छन् ।

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कोरियाली पर्यटकको खानपिन, सुरक्षा र उद्दारसम्बन्धी आज काठमाडौंमा आयोजित एक दिवसीय तालिमका अवसरमा उनले नेपालमा कोरियाबाट पर्यटक ल्याउनका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

‘आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरुको संख्या अझै बढ्ने विश्वास लिएको छु । नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि सहकार्य र सहयोग गर्न तयार छौँ’, उनले भने । सन् २०२४ नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ । कोरियामा बिदाको समयमा साना–साना पहाड तिर पदयात्रामा जाने चलन बढ्दो रहेको भन्दै राजदूत पार्कले भने, ‘नेपालमा पदयात्राका लागि पदमार्गहरु धेरै भएकाले पनि कोरियन पर्यटकहरु नेपालमा बढ्ने विश्वास लिएको छु ।’ यसका लागि कोटानसँग सहकार्य र सहयोग रहने उनको भनाइ छ ।