होटल सञ्चालक महिलाको कुटपिटबाट पुरुषको मृत्यु

काठमाडौँ । विराटनगरमा होटल (खाजाघर)  सञ्चालन गर्दै आएकी एक महिलाको कुटपिटबाट पुरुषको मृत्यु भएको छ । पुरुषको मृत्यपछि ती महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ग्राहकको हत्या आरोपमा विराटनगर– १९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

कुटपिटबाट मृत्यु हुनेमा स्थानीय ५० वर्षीय वीरबल गोसाईं रहेका छन्। उनी सँधै उक्त खाजाघरमा मदिराका लागि जाने गरेका थिए ।

डीएसपी बस्नेतका अनुसार शनिबार दिउँसो गोसाइँ होटलमा जाँदा पनि उनीमाथि कुटपिट भएको थियो। ‘गोसाइँले आफूलाई होलटमा कुटिएको गुनासो घरमा गएर छोरीसँग गरेका रहेछन्,’ डीएसपी बस्नेतले भने, ‘साँझ फेरि उनी सोही होटलमा जाँदा थप कुटपिट भएको खुलेको छ।’

तर, पक्राउ परेकी महिलाले भने आफूले कुटपिट नगरेको दाबी गरेकी छन्। प्रहरी अनुसन्धानका क्रमममा होटलमा कुटपिट भइ बाहिर आएपछि गोसाइँ रातभर नजिकैको सडकमै सुतेको पाइएको छ। आइतबार दिउँसो उपचारको लागि आफन्तले उनलाई स्थानीय अस्पतालमा लगेका थिए। उपचारकै क्रममा उनको आइतबार दिउँसो स्थानीय कोसी अस्पतालमा मृत्यु भएको डीएसपी बस्नेतले बताए।

कुटपिट भए पनि मृतकको शरीरमा ठूलो घाउचोट भने नभएको उनले बताए।