'बेरुजु घटाउन संसद्ले प्रभावकारी भूमिका खेल्छ, गम्भीर भएर पहल गर्नेछु' : सभामुख घिमिरे

काठमाडौँ - सभामुख देवराज घिमिरेले अहिले देखिएको बेरुजुको अवस्था घटाउन सङ्घीय संसद्ले प्रभावकारी भूमिका खेल्ने र आफूले त्यसका लागि गम्भीर भएर पहल गर्ने बताएका छन् । 

महालेखा परीक्षकको कार्यालयको ६५ औँ वार्षिकोत्सव समारोहमा सभामुख घिमिरेले महालेखापरीक्षकको कार्यालयले औँल्याएका बेरुजु समस्या समाधानको अभियानमा सङ्घीय संसद् पनि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।

“पारदर्शी ढङ्गबाट समयमै हिसाबकिताब फछ्र्यौट गर्ने, असुलउपर हुनुपर्ने बेरुजु असुलका लागि सिफारिस गर्ने त्यसलाई कार्यान्वयन गर्ने विषयमा संसद्ले भूमिका खेल्नेछ”, सभामुख घिमिरले भने, “लेखापरीक्षणका क्षेत्रमा अन्य केही कमीकमजोरी छन् भने त्यसलाई दुरुस्त बनाउन पनि संसद्को पहल रहनेछ ।”

पछिल्ला वर्षमा बेरुजुको आँकडा बढ्दै जानुमा कुन पक्ष र निकाय जिम्मेवार छ भनेर हेरिनुपर्ने पनि उनको भनाइ छ । “के कारणले गर्दा बेरुजु फछ्र्यौट हुन सकेनन् र हरेक वर्ष थपिँदै जान्छन् भन्ने कुराको वस्तुपरक ढङ्गबाट समीक्षा हुन जरुरी छ । कतै ऐन कानुनको अभावमा समस्या देखिएको भएमा त्यसलाई कसरी पूर्ति गर्ने भनेर सोच्न सकिन्छ”, उनले भने ।

बेरुजु फछ्र्यौटका लागि मुख्य भूमिका खेल्नुपर्ने सङ्घीय संसद् र संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको प्रभावकारिता न्यून देखिएको उनको भनाइ छ । सभामुख घिमिरेले त्यसलाई सुधार गर्न आफ्नो प्रयास रहने पनि प्रस्ट पारे । कुनै दबाब, अभाव र प्रभावमा नपरेर पारदर्शी ढङ्गबाट लेखापरीक्षणका काम गर्न तथा लेखापरीक्षणबाट देखिएका बेरुजुहरुलाई समयमै फछ्र्यौट गर्ने लगायतका काममा तदारुकता देखाउन उनले जोड दिए ।