६० किलो सुन प्रकरण : दोस्रो चरणमा २० जना पक्राउ, साढे २ खर्ब बढी बिगो दाबी  

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

५६ दिन लामो अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको सीआईबी स्रोतले जानकारी दियो ।

सीआईबीले संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गरेको हो । सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ । सो क्रममा २० जनालाई पक्राउ गरिएको छ भने २६ जना अझै फरार सूचीमा छन् ।

पक्राउ पर्नेमा चिनियाँ र भारतीय व्यक्ति संलग्न रहेको स्रोतले जानकारी दियो । उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गरिएको छ । यसबारे सीआईबीले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ ।