साउन कट्न दिनुस्, देखाइदिन्छु काम भयो कि भएन : स्वास्थ्यमन्त्री यादव  

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले आउँदो साउनपछि अहिलेका कामको परिणाम देखाउने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सिंहदरबार वैद्यखानालाई पुरानै स्वरूपमा फर्काउने, राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिलगाय विषयमा मन्त्री यादवले यस्तो जवाफ दिएका हुन् । लामो समयदेखि एकै निकायमा रहेका कर्मचारी साउनमा सरुवा गरिने उनले जानकारी गराए ।
 
“धेरै कामको रिपोर्ट असार अन्तिममा नै आउँछ । थप सुधारका लागि साउन कट्न दिनुस्, देखाइदिन्छु काम भयो कि भएन,” मन्त्री यादवले भने ।

स्वास्थ्य क्षेत्रका समस्या समाधानका निम्ति आफूले सूक्ष्म ढंगले काम गरिरहेको उनले जिकिर गरे । नागरिकलाई निराश हुन नदिने आफ्नो नीति रहेको उनले बताए ।