विषालु सर्पले डस्दा बैतडीमा एकजनाको मृत्यु 

बैतडी - विषालु सर्पले डस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका २ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहार रहेकी बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

भैंसीलाई घाँस हाल्न गोठमा गएकी निर्मलाको टाउकोमा सर्पले टोकेको थियो। सर्पले टोकेको केही बेरपछि निर्मलाको मृत्यु भएको जनाइएको छ ।
यसअघि गत असोजमा पञ्चेश्वर गाउँपालिका ४ आम्चौराका १२ वर्षीय सुरजराम सार्कीको पनि सर्पको टोकाइबाट ज्यान गएको थियो ।

यसैबीच जिल्लाको पाटन नगरपालिका ६ पौरेउडाका ४० वर्षीय मदनराम पहरी मृत अवस्थामा फेला परेका छन् । पहरी घरनजिकै रहेको भिमलको रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।