कपिलवस्तुमा घरभित्रै श्रीमान–श्रीमती मृत भेटिए

कपिलवस्तु - कपिलवस्तुको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा श्रीमान–श्रीमती मृत भेटिएका परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेका थिए । ६० वर्षका श्रीमान टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मृतक श्रीमान् भर्‍याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी थिइन् । श्रीमतीको शरीरका विभिन्न भागमा चोट देखिएको छ । बिहान घरमा दूध लिएर गएका व्यक्तिले श्रीमानलाई झुण्डिएको देखेपछि गाउँले र आफन्त जम्मा भई प्रहरीलाई खबर गरिएको थियो ।

जिल्लाबाट डीएसपी हरिबहादुर वली नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको प्रकृति हेर्दा श्रीमान–श्रीमतीबीच झगडा भई श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । तर, विस्तृत अनुसन्धानपछि मात्र केही भन्न सकिने डीएसपी वलीले बताएका छन् । घटना हुँदा घरमा कोही थिएनन् । उनीहरूका ३ छोरामध्ये दुई भाइ विदेश र एक भाइ काठमाडौं बस्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।