रौतहटको वनमा भीषण आगलागी, लाखौंको काठ दाउरा जलेर नष्ट  

काठमाडौँ । रौतहटस्थित वन क्षेत्रभित्र भीषण आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास जारी रहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय रौतहटको क्षेत्रअन्तर्गत घाटगद्दी गरी राखिएको काठमा भीषण आगलागी भएको हो । आगलागीबाट लाखौंको काठ दाउरा जलेर नष्ट भएको छ । पूर्व(पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा आज दिउँसोदेखि सुरु भएको भीषण आगलागी अहिले पनि नियन्त्रणमा आउन सकेको छैन ।

गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले बताएका छन् ।

आगलागीबाट काठ दाउरा जलेर भएको क्षतिबारे पूर्ण यकिन नभए पनि १५र२० लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको उनले जानकारी दिएका छन् ।

दिउँसोदेखि नै हुरीको जस्तै चलिरहेको तीव्र बेगको हावाका कारण आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिको हावा चलेकै कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा दैनिक जसो आगलागीको घटना भइरहेको प्रहरीले जनाएको छ ।