आजदेखि विमानस्थलको उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने

काठमाडौँ । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको छ ।

उत्तरतर्फको रन–वे अर्थात् धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका कामको विस्तार थालिएकोले ९० दिनसम्म उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको हो ।

यसअघि दक्षिणतर्फ धावनमार्ग तीन सय मिटर विस्तार भएको थियो । त्यसमा बाँकी रहेका केही काम, धावनमार्गका दुवै विन्दुबाट जहाज पस्न–निस्कन ‘इन्ड–टु–इन्ड’ समानान्तर ट्याक्सी–वे, जहाज मर्मत गर्न ह्याङ्गरलगायतका भौतिक पूर्वाधारको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए ।

 तर धेरैजसो काम रातको समयमा हुनेछ । उनका अनुसार ठूला जहाजलाई केही समस्या हुन सक्छ तर पूरै हवाई यात्रा भने बन्द हुने छैन ।

विमानस्थलमा हुन लागेको पूर्वाधार विस्तारबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो ।