न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशन

काठमाडौँ । नेपाल वायु सेवा निगमलाई अन्तर्राष्ट्रिय समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकले निगमलाई जवाफ पेस गर्न निर्देशन दिएको हो ।

न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेस गर्न समितिका सभापति राजकिशोर यादवले निर्देशन दिए ।

सभापति यादवले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि जवाफ पेस गर्न आग्रह गरे । निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजनाको बारेमा पनि जानकारी पेस गर्न समितिले भनेको छ ।