प्रतिपक्ष भारी, सत्तापक्ष खाली

काठमाडौं -- सत्तासमीकरण बदलिएसँगै संसद बैठकमा सरकार र प्रतिपक्षीको अदल बदल भएको छ। अबको संसद बैठकमा सत्ता पक्षभन्दा प्रतिपक्षी सांसदको संख्या बढी हुने देखिएको छ।

गएको पस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै सहकार्य गरेको एमाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर सरकारबाट बाहिरि सकेको छ।

संसदमा ७९ सिट संख्या भएको एमाले आजको संसद बैठकमा प्रतिपक्षीको बेञ्चमा बस्ने जनाएको छ। केही दिन अगाडिसम्म सत्तासीन दलको रुपमा रहेको एमाले आजदेखि सदनको बैठकमा प्रतिपक्षीको भूमिकामा देखिने भएको हो।

प्रचण्ड सरकारलाई समर्थन गर्दै करिब दुई महिना सत्ता यात्रा गरेको राप्रपा समेत अब प्रतिपक्षी भएको छ। राप्रपालेसमेत सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ। अबदेखि १४ सांसद रहेको राप्रपाको भूमिका सदनमा प्रतिपक्षीको रुपमा देखिने छ।

यस्तै रास्वपा समेत सरकारमा सहभागी छैन। केही समय अगाडि सरकारबाट बाहिरिएको रास्वपा पनि सत्ता पक्षको बेञ्चभन्दा बाहिरै रहने देखिएको छ। यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा माओवादीका ३२ जन सांसद सत्तापक्ष रहेका छन्। ८९ सांसद रहेको कांग्रेसले पनि पछिल्लो समय सत्तारुढ समीकरणमा सहभागी भएपनि सरकारमा सहभागीता नहुँदा प्रतिपक्षकै बेञ्चमा बस्ने जनाएको छ।

यस्तै ७९ सांसद रहेको एमाले भर्खरै सत्तारुढ माओवादी केन्द्रबाट धोका भएको निष्कर्ष निकालेको छ। राष्ट्रपतिको उम्मेदवरालाई सहयोग नगरेरै नयाँ सत्ता समीकरण तय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डप्रति असन्तुष्ट रहेको एमाले प्रतिपक्षीको भूमिका संसदमा निर्वाह गर्ने बताएको छ।