राष्ट्रपति उम्मेदवार नेम्वाङलाई भोट हाल्न वामदेवलाई ओलीको आग्रह

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । 

गौतमलाई भेट्न ओली भैंसेपाटी पुगेका थिए । करिब एक घण्टाको वार्तामा समसामयिक राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो ।

एमाले अध्यक्ष ओलीले एमालेले उठाएका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई भोट हाल्न गौतमलाई आग्रह गरेका थिए। गौतम राष्ट्रिय सभा सदस्य हुन् । 

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टी नरोजेपछि जिम्मेवारीविहीन भएका थिए। त्यसपछि उनले आफैँ एकता राष्ट्रिय अभियान नामको पार्टी गठन गरेका थिए ।

नेकपा विभाजन हुने क्रममा ‘नेकपा एकता राष्ट्रिय अभियान’घोषणा गरेर पार्टी मिलाउने भूमिकामा आफूलाई उभ्याउन खोजेका थिए। गौतम त्यसयता राजनीतिको किनारामा पर्दै गएका छन् ।