यस्तो रहनेछ आजको मौसम : सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा, तराईमा हुस्सु 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार देशको पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू- भागमा मौसम सफा रहेको छ ।

लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू- भागमा हुस्सु लागेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू- भागमा साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू- भागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू- भागका एकदुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू - भागमा साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।