श्रीमती हत्याको अभियोगमा राई पक्राउ

काठमाडौँ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको माङसेवुङ घर भई हाल दमक- ७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका  ३४ वर्षीय विनोद राईलाई  पक्राउ गरेको हो । उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन्।

गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।

कुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७ : ३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले बताए।