विमानस्थल कुटपिट प्रकरण : छानविन प्रतिवेदन गृहमा, अधिकृत मोक्तानलाई हटाउन सिफारिस  

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितले प्रतिवेदन बुझाएको छ ।

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ ।

यसैगरी कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको गृह स्रोतले जानकारी दिएको छ । गृह मन्त्रालयले गत शुक्रबार गठन गरेको समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य थिए । समितिलाई प्रतिवेदन पेस गर्न तीन दिनको समय दिइएको थियो ।