मन्त्रिपरिषद् बैठकमै डीडीसी उत्पादन प्रदर्शन, प्रधानमन्त्री र मन्त्रीले लिए डीडीसीका उत्पादनको स्वाद
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा उपभोग विस्तारमा जोड दिएको छ । मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रदर्शन गरिएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री बालेन शाहकै पहलमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयमार्फत डीडीसीका उत्पादन मन्त्रिपरिषद् बैठकसम्म पुर्याइएको थियो । बैठक कक्षमा दूध, दही, मोही, पेडा, पनिर, बटरलगायतका सामग्री राखिएका थिए । बैठक अवधिभर ती सामग्री मन्त्रीको अगाडि प्रदर्शन गरिएको थियो भने बैठक सकिएपछि प्रधानमन्त्रीदेखि मन्त्रीले ती उत्पादन उपभोग गरेका थिए । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बैठक सकिए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा डीडीसीका उत्पादनसहितको तस्बिर सार्वजनिक गर्दै मन्त्रिपरिषद् #DDC लेखेकी छन् । यस्तै मन्त्रालयको वेबसाइटमा पनि डीडीसीका सामग्रीसहितको मन्त्रिपरिषद् बैठकको तस्बिर राख्दै उनले बैठकमा डीडीसी उत्पादन प्रवर्द्धनका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले पनि फेसबुकमार्फत डीडीसीका उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा उपभोग विस्तार आजको आवश्यकता भएको बताएकी छन् । उनले डीडीसीलाई सरकारी संस्था मात्र नभई हजारौँ दुग्ध किसानको पसिना, श्रम, सङ्घर्ष र आशाको प्रतिनिधित्व गर्ने राष्ट्रिय सम्पत्ति भएको उल्लेख गरेकी छन् । मन्त्री बादीको लेखेकी छन्, ‘किसानका गोठदेखि भान्सासम्म पुग्ने दूध, दही, घिउ, पनिर र चिजजस्ता उत्पादनमा नेपाली किसानको मेहनत, आत्मनिर्भरता र समृद्धिको सपना जोडिएको हुन्छ ।’ उनले स्वदेशी उत्पादनको संरक्षण गर्नु किसानको सम्मान भएको उल्लेख गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन स्वदेशी उत्पादनको प्रयोग र उपभोग बढाउनु आवश्यक रहेको बताएकी छन् । मन्त्री बादीले सबै नागरिकलाई दैनिक जीवनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्दै यसले किसान परिवारको जीवनमा आशा, आत्मविश्वास र आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन् । करिब एक महिना अघि मात्रै प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक पेजमा डीडीसीबाट उत्पादित चिजको तस्बिर राख्दै ‘से चिज, डीडीसीको चिज’ उल्लेख गरेका थिए ।
