कारमार्फत युवती सप्लाइ गरी यौनधन्दा, १२ युवतीसहित १६ जना समातिए
काठमाडौं । कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । यौनधन्दा चलाएको आरोपमा चार पुरुष र यौन क्रियाकलापमा संलग्न हुने १२ युवती गरी १६ जनालाई पक्राउ गरिएको हो । प्रहरी वृत्त गौशालाको टोलीले गौशाला क्षेत्रमा अवैध रूपमा यौनधन्दा चलाएको आरोपमा अपरेशन गरेर १६ जनालाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्ने चार पुरुषहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ घर भएका ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका–८ घ भएका २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं–९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरको मनहरी गाउँपालिका–२ का ३३ वर्षीय विकास भुलन छन् । त्यस्तै यौनधन्दामा लागेका १२ युवतीहरू पनि पक्राउ परेका छन् । उनीहरूबाट युवती सप्लाई गर्न प्रयोग भएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार, बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यो समूहले फेसबुक, इन्टाग्राम, ह्वाट्स एप, टिकटक जस्ता सामाजिक सञ्जाल मार्फत ग्राहक खोज्ने र मोलमोलाई गरेर रकमका कुरा मिलेपछि उनीहरूले भनेको ठाउँमा युवती सप्लाई गर्ने गरेको प्रहरीले बताएको छ । सामाजिक सञ्जालमार्फत नै युवतीका तस्वीर, भिडियोहरू ग्राहकलाई देखाउने र रकमको बार्गेनिङ गरेर कुरा मिले अहिले बरामद भएको कार तथा ट्याक्सीमार्फत युवती सप्लाई हुने गरेको प्रहरीले बताएको छ । उनीहरुले विशेषगरी गौशाला क्षेत्रका होटलमा युवती सल्पाइ गर्ने गरेको प्रहरी बताउँछ ।
