SHARE
Samata Press · मङगलबार २६ जेठ २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

डुम्रे (तनहुँ) । यहाँका १० वटै पालिकामा मगर भाषाको पठनपाठन गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण गरिएको छ ।  नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय प्राज्ञिक परिषद् गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताए ।       उनका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकलाई प्रशिक्षणसमेत प्रदान गरिसकिएकाले आगामी दिनमा पालिकासँग समन्वय गरेर विद्यालयमा पठनपाठन विस्तार गरिनेछ । अध्यक्ष मगरले भने, “मातृभाषा शिक्षाले समुदायको भाषा, संस्कृति, इतिहास र मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । स्थानीय सरकारको सहयोगमा जिल्लाभर अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भने ।       सङ्का भाषिक उपाध्यक्ष हर्क आलेले भाषा बाँचे मात्र जातिको अस्तित्व रहने भएकाले विद्यालय तहदेखि नै यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । सङ्घका गण्डकी प्रदेश सचिव नन्दु थापा मगरले मातृभाषा शिक्षाका लागि प्रदेशस्तरबाट पनि आवश्यक नीतिगत पैरवी भइरहेको बताए ।       मगर भाषा र संस्कृतिका विज्ञ यमबहादुर आलेले भाषिक शुद्धता र मौलिक लिपिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।      व्यास नगरपालिका–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा दुई वर्षअघि कक्षा १ बाट सुरु गरिएको मगर भाषाको पठनपाठन हाल कक्षा ३ सम्म विस्तार भइसकेको छ । उक्त अभ्यासलाई जिल्लाका अन्य विद्यालयमा विस्तार गर्ने लक्ष्यका साथ पाठ्यक्रम निर्माण र शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको सङ्घले जनाएको छ ।  राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँमा मगर समुदायको जनसङ्ख्या ८३ हजार ६१३ रहेको छ ।