SHARE
Samata Press · सोमबार २५ जेठ २०८३ ०६:४८ PM · 1 मिनेट पढाइ

निजामती कर्मचारीलाई अब प्रदेशबाटै सिभिल अस्पतालको सेवा, गण्डकीमा पनि सम्झौता

काठमाडौँ । निजामती कर्मचारीले अब प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) बाट प्रदान हुने स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिभिल अस्पतालको सेवा प्रदेश स्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालमार्फत सेवा उपलब्ध गराउन थालेको हो । मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले प्रदेश अस्पतालसँग सम्झौता सुरु गरिएको छ । यस क्रममा सोमबार गण्डकी प्रदेशको पोखरास्थित गण्डकी अस्पतालसँग पनि सम्झौता भएको छ । सम्झौतासँगै गण्डकी प्रदेशका निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा आश्रित परिवारले सिभिल अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहित स्वास्थ्य सेवा पाउने भएका छन् । यसअघि मधेस प्रदेशका लागि वीरगन्जस्थित नारायणी अस्पताल र बागमती प्रदेशका लागि चितवनको भरतपुर अस्पतालसँग सम्झौता भइसकेको थियो । ती दुवै अस्पतालमार्फत सोमबारदेखि नै सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । सेवा लिनका लागि निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले सिभिल अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ । मन्त्रालयले अन्य प्रदेशमा पनि सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी अस्पतालको सूचीकरण गरिसकेको जनाएको छ । आवश्यक तयारी पूरा भएपछि सबै प्रदेशबाट सेवा विस्तार गरिने बताइएको छ । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी र उनीहरूका परिवारलाई प्रदेशमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।