विप्लवका विश्वासपात्र असलले छोडे विप्लवको साथ, पार्टी परित्याग, स्वतन्त्र भएको घोषणा
काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का विश्वास पात्र चन्द्र खड्का ‘असल’ले पार्टी तथा आन्दोलनभित्रका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै आफू पूर्ण रूपमा स्वतन्त्र भएको घोषणा गरेका छन् । सोमबार दिउसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लामो समय पार्टी र आन्दोलनमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव स्मरण गर्दै अब कुनै पनि सङ्गठनात्मक जिम्मेवारी नलिने घोषणा गरेका हुन् । असलले नेपाली कम्युनिस्ट आन्दोलन अहिले गम्भीर वैचारिक, राजनीतिक र सङ्गठनात्मक चुनौतीबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । उनका अनुसार आन्दोलनमा विभाजन, अवसरवाद, व्यक्तिवाद र सत्ता–केन्द्रित प्रवृत्ति बढ्दै गएको छ भने जनताको अपेक्षा र आन्दोलनको उद्देश्यबिच दूरी बढेको छ । उनले करिब १० वर्षे जनयुद्ध, शान्ति प्रक्रिया र पछिल्लो १२ वर्षसम्म विप्लव नेतृत्वको पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्दै काम गरेको उल्लेख गर्दै आन्दोलनका सकारात्मक पक्षबाट धेरै सिक्ने अवसर पाएको बताएका छन् । तर, आन्दोलनभित्र वैचारिक अस्पष्टता, नेतृत्वको कमजोरी, सङ्गठनात्मक असन्तुलन, आत्मालोचनाको कमी र जनअपेक्षाअनुसार परिणाम दिन नसक्ने अवस्था रहेको उनको टिप्पणी छ । यिनै कारणले आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता महसुस गरेको उनले उल्लेख गरेका छन् । असलले आफ्नो निर्णय कुनै व्यक्तिगत असन्तुष्टि वा पलायन नभई वामपन्थी एकता, वैचारिक बहस र कम्युनिस्ट आन्दोलनको पुनर्गठनमा स्वतन्त्र रूपमा योगदान गर्ने उद्देश्यले लिएको स्पष्ट पारेका छन् । उनले क्रान्ति आफ्नो जीवनको लक्ष्य भएको उल्लेख गर्दै सहिदको बलिदान र सपनाप्रति प्रतिबद्ध रहँदै अघि बढ्ने बताएका छन् । अन्त्यमा उनले आन्दोलनको क्रममा साथ दिएका सबै सहकर्मीलाई धन्यवाद दिँदै भविष्यमा पनि प्रगतिशील तथा परिवर्तनगामी शक्तिको अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी तत्कालीन विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको बेलासहित लामो समय विप्लवको प्रमुख स्वकीय सचिवको भूमिकामा थिए ।
