SHARE
Samata Press · सोमबार २५ जेठ २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छः सभामुख यादव

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान दिन नमूना युवा संसदीय अभ्यास कार्यक्रम प्रभावकारी माध्यम बनेको बताएका छन् । मधेस प्रदेशसभा सचिवालयद्वारा आज जनकपुरधाममा आयोजित ‘नमूना युवा संसदीय अभ्यास कार्यक्रम–२०८३’ मा  उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक पर्दछ भने । उनले  भने, “संसदीय अभ्यासमार्फत युवाहरूमा नेतृत्व विकास, तार्किक बहस, निर्णय क्षमता तथा जिम्मेवारीबोधको विकास हुनेछ । ” सभामुख यादवले लोकतान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाउन युवा पुस्ताले संविधान, कानुन तथा संसदीय प्रक्रियाको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले यस्ता अभ्यासले युवालाई भविष्यमा सक्षम जनप्रतिनिधि, नीतिनिर्माता तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताए । सो अवसरमा प्रदेशसभा सदस्य उपेन्द्र महतोले लोकतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि युवाको सहभागिता अपरिहार्य रहेको धारणा राखे ।  कार्यक्रममा विभिन्न विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाबाट सहभागी भएका युवाले प्रदेशसभाको बैठक सञ्चालन, प्रश्नोत्तर, प्रस्ताव प्रस्तुति तथा छलफलजस्ता संसदीय गतिविधिको अभ्यास गर्नेछ ।