SHARE
Samata Press · आइबार​ २४ जेठ २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

मनसुनजन्य विपद्को जोखिम व्यवस्थापन गर्न स्थानीय तहलाई ११ बुँदे विशेष निर्देशन

काठमाडौँ । सरकारले यस वर्षको मनसुनका क्रममा हुनसक्ने सम्भावित प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि सबै स्थानीय तहलाई विशेष निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरेर देशैभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८३’ कार्यान्वयन गर्न निर्देशन दिएको हो । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना र तापक्रम वृद्धिका कारण तराई क्षेत्रमा तातो हावा (लु) तथा पहाडी र हिमाली क्षेत्रमा हिमताल विस्फोट एवं बाढी-पहिरोको उच्च जोखिम देखिएकाले सरकारले पूर्व तयारीमा कडाइ गरेको हो । मन्त्रालयले स्थानीय तहलाई ११ बुँदे कार्यसूची पठाउँदै तत्काल कदम चाल्न भनेको छ । जसअनुसार प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्रको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना’ तर्जुमा गरी त्यसको विवरण मन्त्रालयले उपलब्ध गराएको अनलाइन (गुगल फर्म) मार्फत अनिवार्य रूपमा पठाउनुपर्नेछ । त्यस्तै, विपद्को समयमा तत्काल प्रयोग गर्न सकिने खुला क्षेत्र, सुरक्षित आश्रय स्थल, हेलिप्याड, गोदाम घर र दमकल लगायतका विवरण ‘विपद् पोर्टल’ मा अद्यावधिक गर्न निर्देशन दिइएको छ । बाढी र डुबानको जोखिम कम गर्न सहरका ढल सफा गर्ने, खोला तथा नालामा थुप्रिएका गेग्रान हटाउने र पानीको निकास खोल्ने कार्यलाई प्राथमिकतामा राख्न भनिएको छ । मन्त्रालयले स्थानीय समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक स्थानमा राख्न र खोज तथा उद्धारका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न भनेको छ । विपद्को समयमा हुनसक्ने कृत्रिम अभाव, कालोबजारी र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न समेत स्थानीय प्रशासनलाई चनाखो रहन निर्देशन दिइएको छ । विपद् व्यवस्थापनका लागि गैरसरकारी संस्था, निजी क्षेत्र र मानवीय क्षेत्रमा कार्यरत संस्थासँग समन्वय गर्न तथा स्थानीय स्वयंसेवक परिचालन गर्न भनिएको छ । मन्त्रालयले योजना तर्जुमा भए-नभएको र कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न १० वटा सूचक सहितको रिपोर्टिङ प्रणाली समेत लागू गरेको छ । मन्त्रालयका उपसचिव मोहन कुमार घिमिरेले गरेको परिपत्रमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाउन र मनसुन प्रतिकार्य कमान्ड पोस्ट स्थापना गरी प्रभावकारी रूपमा कार्य सञ्चालन गर्न विशेष जोड दिइएको छ ।