मलद्वारमा लुकाइएको ब्राउन सुगरसहित दुई जना पक्राउ
मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ गोल चोकबाट लागू औषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र–१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङ रहेका छन् । जाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । त्यसै गरी निश्चल गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागू औषध फेला परेको जनाइएको छ । दुवै जनालाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
