SHARE
Samata Press · आइबार​ २४ जेठ २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

रास्वपा निर्वाचन आयोगको नयाँ निर्देशन: पुराना सदस्य मात्र प्रतिनिधि बन्न पाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आसन्न जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जारी गरेको सूचनाअनुसार वैशाख ३० गते तोकिएको जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयनमा निश्चित योग्यता अनिवार्य गरिएको छ । सूचनाअनुसार जिल्ला अधिवेशनको मिति घोषणा हुनुभन्दा १५ दिन अगाडि अर्थात् वैशाख १५ गते वा सोभन्दा अगाडि नियुक्त भएका सदस्य मात्र प्रतिनिधिका रूपमा सहभागी हुन पाउनेछन् । त्यस्तै, अधिवेशन सम्पन्न नभएका पालिकाबाट जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्न नपाइने व्यवस्था गरिएको छ । अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा पनि वैशाख १५ गते अगावै नियुक्त भएका विभागीय सदस्य मात्र प्रतिनिधि हुन योग्य हुने आयोगले जनाएको छ । निर्वाचन आयोगले तोकिएको मापदण्ड कडाइका साथ पालना गर्दै अधिवेशन प्रक्रिया अगाडि बढाउन सबै जिल्ला तथा पालिका समिति र सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।