सन्धिखर्कमा पाठेघरको मुखको क्यान्सर परीक्षण : २१६ ले लिए सेवा
अर्घाखाँची। महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सन्धिखर्क नगरपालिकाले पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर भएको छ। सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले गरेको शिविरमा २१६ जना महिलाले सेवा लिएका छन्। नेपालमा महिलामा देखिने प्रमुख क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या मानिन्छ। समयमै परीक्षण र उपचार गर्न सके यस रोगबाट हुने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने भएकाले स्थानीय तहले सञ्चालन गरेको यस्तो कार्यक्रमलाई स्वास्थ्य क्षेत्रका जानकारहरूले प्रभावकारी कदमका रूपमा लिएका छन्। स्वास्थ्य शाखामा कार्यरत सिएनएमआई निरीक्षक लुमा पराजुलीका अनुसार शिविरमा सहभागी महिलाहरूको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो। ग्रामीण क्षेत्रका महिलाहरू नियमित स्वास्थ्य परीक्षणबाट टाढा रहने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको उनले बताए।
