काठमाडौं । राष्ट्रिय सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले भोटेकोशी बाढी, सामाजिक सुरक्षा र समसामयिक राजनीतिक घटनाक्रममा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले संसदलाई जानकारी नदिई एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद ढुंगानाले भोटेकोशी बाढीपछि सर्वदलीय बैठक आह्वान गर्ने प्रतिबद्धता पूरा गर्न सरकार चुकेको भन्दै आक्रोश पोखे । उनले प्रधानमन्त्रीले प्रतिनिधि सभामा जवाफ दिए पनि राष्ट्रिय सभालाई उपेक्षा गरेको आरोप लगाए । उनले सामाजिक र प्रशासनिक क्षेत्रमा सरकारले गरेको दुई दिन सार्वजनिक बिदाको निर्णय अव्यावहारिक भएको तर्क गरे । निजामती कर्मचारीको उमेर हद र समायोजनको विषयमा सरकारको हचुवा निर्णयले प्रशासनिक संयन्त्रमा अस्थिरता निम्त्याएको बताए ‘संसद् र जनताप्रति उत्तरदायी हुनुपर्ने सरकार आफ्नै निर्णय कार्यान्वयन गर्नबाट पन्छिरहेको छ । संसदीय समिति गठन गर्ने प्रतिबद्धता अझै पूरा भएको छैन,’ उनले भने, ‘गरिब मुलुकको संरचना अनुसार सातामा दुई दिन बिदा दिँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रतिकूल असर परेको छ । संघीयता खारेजीको प्रश्ताव राख्नेहरू नै अहिले सत्तामा छन्, यसले देशको संघीय संरचनामाथि नै प्रश्नचिह्न खडा गरेको छ ।’ ढुंगानाले वर्तमान सरकारको संघीयताप्रतिको प्रतिवद्धतामा समेत प्रश्न उठाए ।