हेटौडा । बागमती प्रदेशको राजधानी हेटौँडास्थित बागमती प्रदेश सभा सचिवालयको कार्यकक्षमा सुट र टाई मा सजिएका एक शालीन व्यक्तित्व फाइलमा व्यस्त भेटिन्छन् । बाहिर 'सचिव' लेखिएको नेमप्लेट छ, भित्र गम्भीर प्रशासनिक विमर्श । ती व्यक्ति हुन्, पूर्णबहादुर दर्जी । आज प्रदेशको सर्वोच्च विधायी निकायको प्रशासनिक कमान्ड सम्हालिरहेका दर्जीको यो कुर्सीसम्मको यात्रा कुनै सुकिलो गलैँचामा हिँडेर तय भएको होइन । यो त ओखलढुङ्गाका भिर पाखा, काठमाडौँका साँघुरा गल्लीमा लुकाइएको पहिचान र ३२ वर्षसम्म लोक सेवाको कठिन सिँढी चढ्दाको एउटा जीवन्त सङ्घर्षको दस्ताबेज हो । गाउँकै विद्यालयको 'हेड मास्टर' बनाउने बाबुको सपना ३९ वर्ष अघि विसं २०४४ सालमा ओखलढुङ्गाको मोलुङ-२ (साबिक फूलबारी गाविस) को घोराखोरी गाउँमा एउटा उत्साह थियो । त्यहाँको ज्ञान प्रकाश माविबाट पूर्णबहादुरले एसएलसी उत्तीर्ण गरे । २४ जना एसएलसी परीक्षामा सहभागी भएकोमा ६ जना मात्रै उर्तिण हुँदा उनी पनि भए । दलित समुदायबाट एसएलसी गर्ने उनी गाउँकै पहिलो व्यक्ति थिए । त्यति बेला ओखलढुङ्गा बजार पुग्न गाउँबाट १२ कोष हिँड्नुपर्थ्यो । एसएलसी परीक्षा दिन जाँदा चामल, दाल र गुन्द्रुकको 'सामल' बोकेर हिँडेका ती दिन उनलाई अझै पनि ताजै लाग्छन् । बाबु गाउँमा सिलाइको काम गर्थे । आर्थिक अभावले थिचेको परिवारमा बाबुको एउटै धोको थियो, 'छोरो पढेर मैले सिलाइ गर्ने स्कुलकै हेडमास्टर बनोस् ।' तर, पूर्णबहादुरको मनमा भने हेडमास्टरभन्दा माथिल्लो आकाश छुने अभिलाषा पलाइसकेको थियो । काठमाडौँको सङ्घर्ष: 'थर लुकाउँदाको त्यो पीडा' ३७ वर्ष अघि उच्च शिक्षाका लागि विसं २०४६ सालतिर उनी काठमाडौँ ओर्लिए । ताहाचलस्थित महेन्द्र रत्न क्याम्पसमा शिक्षा विषयमा भर्ना भए । तर, काठमाडौँको बसाई सोचेजस्तो सहज थिएन । पढाइभन्दा ठुलो चुनौती 'बस्ने कोठा' को थियो । काठमाडौँका घरबेटीले जात सोध्थे । 'दर्जी' भनेपछि कोठा नपाइने निश्चित हुन्थ्यो । दर्जी सम्झिन्छन्, 'त्यति बेला कोठा पाउनकै लागि कतिपय समयमा आफ्नो वास्तविक थर लुकाएर वा ढाँटेर बस्नुपर्ने बाध्यता थियो । ताहाचल र छाउनीका गल्लीमा कोठा खोज्दा भोगेको त्यो अपमानले मलाई कर्मचारी बनेर यो परिचय बदल्न झन् ठुलो ऊर्जा दियो ।' बिहान क्याम्पस पढ्ने र दिउँसो निजी विद्यालयमा मासिक ९०० रुपैयाँ तलबमा पढाएर उनले आफ्नो खर्च जुटाए । ३३ वर्ष अघि विसं २०५० सालमा ताहाचलकै होस्टेलमा बस्दा दैलेखका डम्बरबहादुर थापासँगको भेटले उनको जीवनमा लोक सेवाको ढोका खोलिदियो । थापाबाट प्राप्त लोक सेवाका सामग्री र प्रेरणाले उनलाई 'प्रशासक' बन्ने बाटोमा डोहोर्यायो । लोक सेवाको सिँढी: विना आरक्षणको त्यो प्रतिस्पर्धा पूर्णबहादुर दर्जीको निजामती यात्रा ३२ वर्ष अघि विसं २०५१ साल वैशाख ४ गतेबाट सुरु भयो । उनले सुरुमा शिक्षा सेवातर्फ प्राविधिक सहायक (प्रास) पदबाट सेवा प्रवेश गरे । त्यसको करिब ५ वर्षपछि विसं २०५५ सालमा उनी शिक्षा सेवातर्फकै विद्यालय निरीक्षक (विनी) अर्थात् शाखा अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट छनोट भए । रोचक कुरा के छ भने, त्यति बेला निजामती सेवामा दलित वा अन्य समुदायका लागि आरक्षणको व्यवस्था थिएन । उनले ब्राह्मण-क्षेत्री बाहुल्य रहेको कर्मचारीतन्त्रमा खुला प्रतिस्पर्धाबाटै आफ्नो स्थान सुरक्षित गरे । अधिकृत भएपछि उनको पहिलो पदस्थापन तत्कालीन जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुमा भयो, जहाँ उनले दुई वर्ष बिताए । त्यसपछि जिल्ला शिक्षा कार्यालय रसुवामा पाँच वर्ष र जिल्ला शिक्षा कार्यालय भक्तपुरमा तीन वर्ष शाखा अधिकृतको रूपमा शिक्षा प्रशासनको जिम्मेवारी सम्हाले । जिल्ला शिक्षा अधिकारीको कमान्ड: 'पूर्वाञ्चलकै उत्कृष्ट' १६ वर्ष अघि विसं २०६७ सालमा उनी शिक्षा सेवातर्फ नै उपसचिव पदमा बढुवा भए । उपसचिव भएपछि उनले सङ्खुवासभा र ताप्लेजुङ जस्ता विकट जिल्लामा तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिशिअ) को रूपमा नेतृत्व गरे । सङ्खुवासभामा उनले साढे तीन वर्ष कार्यकाल बिताए । दर्जीको नेतृत्वमा सङ्खुवासभाले शिक्षाको कार्यसम्पादन र र्याङ्किङमा तत्कालीन पूर्वाञ्चलका १६ जिल्लामध्ये पहिलो स्थान हासिल गर्यो । 'सुनसरी, झापा र मोरङ जस्ता सुगम जिल्लालाई पछि पारेर सङ्खुवासभालाई उत्कृष्ट बनाउँदाको त्यो गर्व अर्कै थियो,' उनी सम्झिन्छन् । ताप्लेजुङमा उनले २२ महिना बिताए । जिल्ला-जिल्लामा पुग्दा उनले दलित समुदायका बालबालिकालाई स्कुल भर्ना गर्न र उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउन विशेष पहल गरे, जसका कारण सयौँ बालबालिका पहिलो पटक विद्यालयको आँगनमा पुगे । मन्त्रालयको सचिवदेखि प्रदेश सभाको सचिवालय सचिवसम्म आठ वर्ष अघि विसं २०७५ सालमा कर्मचारी समायोजन हुँदा उनी नवौँ तह (उपसचिव सरह) मा थिए । समायोजनपछि उनी एक तह बढुवा भएर दशौँ तहको जिम्मेवारीसहित बागमती प्रदेशमा आए । बागमतीमा आएपछि विसं २०७७ सालमा उनको क्षमता र अनुभवलाई कदर गर्दै एघारौँ तह (सहसचिव सरह) मा बढुवा भएपछि उनलाई मन्त्रालयको सचिवको जिम्मेवारी दियो । बढुवा भएपछि उनले बागमती प्रदेशका तीन वटा महत्त्वपूर्ण मन्त्रालयमा 'प्रदेश सचिव' को रूपमा काम गरे । सामाजिक विकास मन्त्रालय: जहाँ उनले शिक्षा र स्वास्थ्यका नीतिगत सुधारमा काम गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालय: सुरक्षा र कानुन निर्माणको पाटो सम्हाले । सहकारी तथा गरिबी निवारण मन्त्रालय: विपन्न समुदायको उत्थानका कार्यक्रम कार्यान्वयन गरे । अहिले उनी बागमती प्रदेश सभा सचिवालयको सचिव छन् । यो पद मन्त्रालयको भन्दा भिन्न छ । यहाँ उनी ५३ जना कर्मचारीको प्रशासनिक नेतृत्व गर्छन् भने सभामुख, उपसभामुख सहित १०४ जना प्रदेश सभा सदस्यको संसदीय अभ्यासलाई सहजीकरण गर्छन् । विधेयक निर्माण, संसदीय समितिको व्यवस्थापन र सदनको कार्य व्यवस्थालाई चुस्त बनाउनु उनको मुख्य जिम्मेवारी हो । सफलताका सिँढी र केही पछुतो ३२ वर्षे जागिरे जीवनको उत्तरार्धमा रहेका दर्जी प्रदेश सचिवको पाँच वर्षे कार्यकालको सेवा अवधिका कारण अबको एक वर्षपछि अवकाश पाउँदै छन् । उनीसँग एउटा सानो पछुतो पनि छ । उनी भन्छन्, 'मैले शाखा अधिकृतमा १२ वर्ष बिताएँ । त्यति बेला अलि बढी मेहनत गरेर चाँडै उपसचिव र सहसचिव भएको भए आज म सङ्घीय सरकारको सचिव वा मुख्य सचिवको दौडमा हुने थिएँ ।' तथापि, एउटा दलित समुदायको व्यक्ति विना आरक्षण राज्यको यति उच्च तहसम्म पुग्नु आफैँमा एउटा ठुलो उपलब्धि हो । समुदायका लागि प्रेरणाको खम्बा अहिले पनि उनलाई भेट्न धेरै दलित युवा आउँछन् । उनलाई देख्दा उनीहरूमा 'हामी पनि सक्छौ' भन्ने आत्मविश्वास पलाउँछ । दर्जी उनीहरूलाई भन्छन्, 'मैले कोठा नपाएर थर लुकाउनुपर्ने दिन थिए, तर आज मेरो नामको अगाडि 'सचिव' र पछाडि गर्वका साथ 'दर्जी' लेखिएको छ । यो पद र प्रतिष्ठा मेरो जातले होइन, मेरो योग्यता र मेहनतले दिएको हो ।' पूर्णबहादुर दर्जीको जीवन यात्राले यो प्रमाणित गर्छ कि सङ्घर्ष र दृढ इच्छाशक्ति भएमा कुनै पनि जातीय वा सामाजिक पर्खालले मानिसलाई रोक्न सक्दैन । ३२ वर्षअघि ओखलढुङ्गाबाट सामल बोकेर हिँडेको त्यो ठिटो आज प्रदेशको 'लालमोहर' लगाउने र कानुन बनाउने प्रक्रियाको साक्षी बनेको छ । उनी केवल एक कर्मचारी होइनन्, उनी परिवर्तनका एउटा बलियो खम्बा र उत्पीडित समुदायका लागि एउटा उज्यालो नक्षत्र हुन् ।