काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता तथा विगतमा सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद परियारले ग्यासको आयात तत्काल दोब्बर वृद्धि गरी पर्याप्त भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाउन तथा तदर्थवादी निर्णय बन्द गरी बजारमा खाना पकाउने ग्यासको सुलभ र निरन्तर उपलब्धता सुनिश्चित गर्न माग गरे। उनले ग्यासको विकल्पका रूपमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् खपतमा लगाइएका सबै प्रकारका अतिरिक्त कर तत्काल हटाउन, उपभोक्तालाई इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा पुनः सहुलियत उपलब्ध गराउन तथा ग्यास विस्थापन गर्ने स्पष्ट र दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्नुपर्ने माग गरे। त्यस्तै, किसानलाई बाली लगाउने मुख्य सिजनमै सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्न तथा साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् । सीमावर्ती क्षेत्रका किसानले भोग्दै आएको समस्याको स्थायी समाधान खोज्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । परियारले सरकार र पीडित पक्षबीच भएका सम्झौता कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारसँग सम्झौता गरी पीडित पक्षलाई न्याय दिने प्रतिबद्धता जनाइए पनि हालसम्म चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य विषय कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । सरकारको गैरजिम्मेवार रवैयाका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको र पुनः अर्को दुर्घटना निम्तिने खतरा बढेको भन्दै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे। उनले सरकारद्वारा गरिएका सम्झौता अविलम्ब कार्यान्वयन गरी तत्काल काम अगाडि बढाउन जोडदार माग गरे।