ओसाकामा मौलिकता झल्काउने ‘तीज विशेष कार्यक्रम २०२६’ आयोजना हुँदै ओसाका, जापान। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिको आयोजनामा ‘तीज विशेष कार्यक्रम २०२६’ आयोजना हुने भएको छ। आयोजकका अनुसार आगामी अगस्ट १०, २०२६ सोमबार जापानको ओसाका सहरस्थित आबेनो कुमिन सेन्टरमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रम बेलुका ४ बजेदेखि सुरु हुने समाजका अध्यक्ष ल्मण न्यौपानेले बताए। नेपाली कला, संस्कृति, मौलिकता र तीजको परम्परालाई जापानमा समेत संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। कार्यक्रममा सिता परिवार, केशव शर्मा, काजल गुरुङ, प्रेम सापकोटा ‘सानु’ तथा सम्झना लामिछाने मगर लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। त्यस्तै कुलवीर थापा कार्यक्रम प्रस्तोताका रूपमा रहनेछन्। आयोजकले जापानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा सहभागी भई तीजको खुसी साटासाट गर्न तथा नेपाली कला–संस्कृतिको संरक्षणमा साथ दिन आग्रह गरेको छ।