मकवानपुर। हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएको छ । यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले भने, ‘हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान निर्माण गर्न लागिएको हो । यसमा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान झल्किने गरी रचना हुनुपर्छ ।’ नगर गानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रूपमा आफूहरूले विकास गर्न चाहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन्। ‘हेटौँडाको इतिहास, प्रकृति, संस्कृति, सामाजिक विविधता र औद्योगिक पहिचानलाई समेट्नेगरी नगर गान निर्माण गर्न खोजिएको हो । त्यसैले उत्कृष्ट सृजनाका लागि स्रष्टा तथा रचनाकारहरूको सहभागिता महत्त्वपूर्ण हुनेछ’, उनले भनिन्। नगरपालिकाले नगर गान निर्माणसम्बन्धी अन्य व्यवस्था ‘हेटौँडा उपमहानगरपालिका पर्यटन वर्ष २०८३ को लोगो तथा नगर गान निर्माणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम हुने जनाएको छ । चालु आव २०८३÷८४ मा ‘हेटौँडा पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेको सन्दर्भमा हेटौँडाको पहिचानका लागि विभिन्न अभियान सञ्चालन गर्न लागिएको हो ।