काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई देश सञ्चालनको शैलीबारे सुझाव दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौँ महानगरपालिका सञ्चालन गर्दाको सोच र शैलीलाई सङ्घीय सरकार सञ्चालनमा जस्ताको तस्तै लागू गर्न नसकिने बताएकी हुन् । उनले देशको सबैभन्दा धनी स्थानीय तह काठमाडौँ महानगरपालिका र एसियाकै गरिब मुलुकमध्ये एक नेपाल सञ्चालन गर्ने तरिका फरक हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहलाई परिस्थिति अनुसार नेतृत्व क्षमता प्रदर्शन गर्न आग्रह गरेकी छन् । बमले फेसबुकमा लेखेकी छन्, ‘देशको सबैभन्दा धनी महानगर चलाउने तरिका र एसियाकै सबैभन्दा गरिबमध्येको एउटा देश चलाउने तरिका एउटै हुन सक्दैन । त्यसैले सम्हालिनुस् । महानगरकालीन धङधङी र उन्मादबाट बाहिर निस्किनुस् ।’