राष्ट्रिय समावेशी म्युजिक अवार्डमा सृष्टि खड्कालाई उत्कृष्ट मोडलको अवार्ड

  • आइबार​ ३१ जेठ २०८३ ११:०७ PM
काठमाडौँ । मोडल तथा नायिका सृष्टि खड्काले वर्ष २०२६ को उत्कृष्ट मोडल अवार्ड प्राप्त गरेकी छन् । राजधानीमा आइतबार सम्पन्न ९औँ राष्ट्रिय समावेशी म्युजिक अवार्डमा उनले उक्त सम्मान हात पारेकी हुन् । सृष्टिले चर्चित लोकदोहोरी गीत ‘परदेशी’को म्युजिक भिडियोमा गरेको अभिनयका लागि उत्कृष्ट मोडलको अवार्ड प्राप्त गरेकी हुन् । सोही विधाको पुरुषतर्फ अभिनेता आर्यन सिग्देल उत्कृष्ट घोषित भएका छन् । विगत केही वर्षदेखि नेपाली कला क्षेत्रमा सक्रिय सृष्टि मोडलिङ र अभिनय दुवै क्षेत्रमा स्थापित नामका रूपमा परिचित छिन् । उनले हालसम्म दर्जनौँ लोकदोहोरी, आधुनिक तथा पप गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । नृत्य प्रधान गीतदेखि भावनात्मक र गम्भीर भूमिकासम्म सहज रूपमा प्रस्तुत हुन सक्ने सृष्टि नेपाली म्युजिक भिडियो क्षेत्रकी व्यस्त मोडलमध्ये एक मानिन्छिन् । म्युजिक भिडियोमार्फत पहिचान बनाएकी सृष्टिले नेपाली कथानक चलचित्र पुरानो बुलेट बाट नायिकाका रूपमा रजत पटमा डेब्यु गरेकी थिइन् । उक्त चलचित्रमा उनको अभिनयले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । अवार्ड विजेता गीत ‘परदेशी’मा उनले वैदेशिक रोजगारीका लागि बिदेसिएका श्रीमानको प्रतीक्षामा बसेकी नेपाली महिलाको पीडा र संवेदनालाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन् । नेपालका विभिन्न भाषा, संस्कृति र सङ्गीत विधालाई समेट्ने प्रतिष्ठित मञ्चका रूपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्डको नवौँ संस्करणमा सुगम सङ्गीत, लोकदोहोरी तथा म्युजिक भिडियो विधाका उत्कृष्ट स्रष्टा र कलाकारलाई सम्मान गरिएको थियो । अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै सृष्टिले यो सम्मान दर्शक, श्रोता तथा ‘परदेशी’को सम्पूर्ण टिमप्रतिको माया र विश्वासको प्रतिफल भएको बताइन् । उनले यस सम्मानले आगामी दिनमा अझ परिपक्व र उत्कृष्ट काम गर्ने प्रेरणा तथा जिम्मेवारी थपिएको महसुस भएको उल्लेख गरिन् ।